दफा १२
स्वदेशी निर्माण व्यवसायी तथा संयुक्त लगानीमा संचालित निर्माण व्यवसायीबाट सार्वजनिक निर्माण कार्य गराउने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अन्तर्राष्ट्रिय स्तरमा आव्हान गरिएको बोलपत्र अनुसारको सार्वजनिक निर्माण कार्य देहाय बमोजिमको अवस्थामा देहाय बमोजिमको निर्माण व्यवसायीबाट सम्पन्न गराउन सकिनेछ ः–
(क) शत प्रतिशत नेपाली नागरिकको हिस्सा भएको निर्माण व्यवसायी वा कम्तीमा पचास प्रतिशत नेपाली नागरिकको हिस्सा भएको विदेशी निर्माण व्यवसायीसंग संयुक्त लगानीमा इजाजतपत्र प्राप्त निर्माण व्यवसायी वा कम्तीमा पचास प्रतिशत नेपाली नागरिकको हिस्सा रहने गरी विदेशी निर्माण व्यवसायीसंग संयुक्त लगानीको सम्झौता गर्ने निर्माण व्यवसायीले बोलपत्रमा उल्लेख गरेको कूल ठेक अंक विदेशी निर्माण व्यवसायीले पेश गरेको बोलपत्रमा उल्लिखित कूल ठेक अंकभन्दा साढे सात प्रतिशतसम्म बढी भए तापनि त्यस्तो बोलपत्र पेश गर्ने ।
(ख) कम्तीमा पच्चीस प्रतिशत नेपाली नागरिकको हिस्सा भएको विदेशी निर्माण व्यवसायीसंग संयुक्त लगानीमा इजाजतपत्र प्राप्त निर्माण व्यवसायी वा कम्तीमा पच्चीस प्रतिशत नेपाली नागरिकको हिस्सा रहने गरी विदेशी निर्माण व्यवसायी संग संयुक्त लगानीको सम्झौता गर्ने निर्माण व्यवसायीले बोलपत्रमा उल्लेख गरेको कूल ठेक अंक विदेशी निर्माण व्यवसायीले पेश गरेको बोलपत्रमा उल्लिखित कूल ठेक अंकभन्दा पाँच प्रतिशतसम्म बढी भए तापनि त्यस्तो बोलपत्र पेश गर्ने ।
(२) छ करोड रुपैयाँसम्मको रकमको सार्वजनिक निर्माण कार्य नेपाली निर्माण व्यवसायीबाट गराउनु पर्नेछ ।